123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:27 PM
0
२०६९-४-१५
फिल्मी अपडेट

- यतिबेला लन्डनमा ओलम्पिक चलिरहेको छ । त्यहाँ खेलहरूको संग्राम चलिरहँदा यहाँ फिल्म 'मायाज बार' चलिरहेको छ । नाममा बार जोडिए पनि दिनेश डीसी निर्देशित फिल्ममा पनि बक्सिङ जस्तो लाग्ने खेलकै कुरा छ । फरक यत्ति हो, पदक जित्नका लागि ओलम्पिकमा नियमअनुसार खेल्नुपर्छ, 'मायाज बार' मा त्यो झन्झट छैन ।

मांसपेशी फुलाउँदा लगाइरहेको सर्ट च्यातिने, हिरोइनलाई बचाउन ब्लेडिङमा हुइँकिँदै आउने र फाइटमा विरोधीलाई किसिम-किसिमका स्टाइलमा किक हानेर रामधुलाइ गर्ने पात्र गजित -गजित) कै केन्द्रमा घुमेको छ, फिल्म । प्रहरीमा छँदाका बक्सिङ खेलाडीकी छोरी माया -निशा) सँग प्रेम विवाह गरेका गजित सात वर्ष पुग्दा नपुग्दै छोराको स्कुल फी तिर्न नसक्ने गरी टाट पल्टिन्छन् । कथाले यसो भनिरहँदा उक्त दम्पतीको आलिसान बंगलाभित्रको रवाफी बसाइका कारण दर्शकहरूलाई ती दुई सन्दर्भबीच तारतम्य मिलाउन भने गाह्रो पर्छ ।  
फिल्मलाई स्टाइलिस बनाउन भरमग्दुर प्रयास गरिएको छ । नायकलाई बक्सिङ खेलाडीका रूपमा उतारेर केही दमदार फाइट राखिएको छ । नायिकालाई बार डान्सर बनाएर मादकता प्रदर्शन गरिएको छ । हेलिकप्टरबाट प्रहरी अपरेसन लगायतका किस्साले पनि फिल्ममा चमकदमक थपेका छन् । हिमाली सुन्दर लोकेसनका लागि ज्यादा पसिना बगाइएको देखिन्छ । तर फिल्मको कथा उति नौलो लाग्दैन । बक्सिङकै कारण बाबु गुमाएकी मायालाई आफ्नो पति पनि पैसाको जोहोका लागि मुक्केबाजसँग भिडेकोमा चित्तदुखाइ छ । यद्यपि उसले सानैदेखिको नाच्ने इच्छा पतिकै कारण त्यागेकी हुन्छे । पैसा कमाउन अरू पनि उपाय भएको मायाको जिकिरमा भने गजितले टेरपुच्छर लगाउँदैन ।  

ब्लेडिङ रेसबाट इन्ट्रोड्युस भएको गजितले एकाएक बक्सिङ नै खेल्नुपर्ने कारण कतै खुल्दैन । टेलिभिजनमा बक्सर तथा सहरमा बार र फाइट क्लब चलाइरहेको डन त्रिलोक राणा -राजेश) को अन्तरवार्ता सुनेकै भरमा ऊ सहरको नामुद बक्सर टाइगरको सामना गर्न पुगेको हुन्छ । र अचम्म, जित्छ पनि । पैसा कमाउँछ पनि । आफ्नो आग्रहलाई नमानेपछि पतिलाई पाठ पढाउन माया त्रिलोककै बारमा नाच्न पुग्छे, जहाँ उसलाई करिश्माले साथ दिन्छिन् । पति र पत्नी दुईतिर फर्केका बेला छोरा विशालमा घट्ने घटनाले उनीहरूलाई कसरी जोड्छ फिल्मले देखाउन खोजेको छ ।

स्त्रिम्प्टमा मिहिनेत कम्ता परेकोले हुन सक्छ, घटनाक्रमले दर्शकहरूलाई तान्ने ल्याकत राख्दैन । फिल्ममा एकै समय हुने दुई घटनाको तारतम्य मिल्न सकेको छैन । गुलाफको फूल लिएर पुग्ने केटोलाई करिश्माको पात्रले आक्रामक रूपमा सर्वाङ्ग नाङ्गो भई सेक्सका लागि दिएको चुनौती अलि चर्को लाग्छ । फिल्मको आखिरीमा मायाले 'सन्तानभन्दा ठूलो पैसा हुन नसक्ने' भनी गरेको प्रायश्चित्त त्रुटिपूर्ण छ । किनभने, मायाले छोराका लागि नभई गजितलाई काउन्टर दिन बारमा नाचेकी थिई ।

पहिलो पटक फिल्ममा देखिएका गजितले 'मायाज बार' मा राम्रो सम्भावना छोडेका छन् । अभिनयमा निखार ल्याउने हो भने नृत्य र एक्सनको उनको कौशलले जम्ने मौका पाउनेछ । राजेशलाई खलचरित्रमा खेलाइएको भने पनि उनीप्रति दर्शकमा त्यस्तो कुनै घृणा, रिस उत्पन्न हुँदैन । करिश्मालाई ग्ल्यामरस छविमा उतार्नुबाहेक अर्थपूर्ण रूपमा प्रस्तुत गरिएको छैन । निशाले अभिनयमा स्थापित हुनसक्ने प्रशस्त सम्भावनालाई जीवितै राखेकी छन् । छोराको भूमिकामा देखिएका रिरेन्द्र श्रेष्ठ अभिनयमा कमजोर छन् ।

'मायाज बार' ले गीतको प्रयोग भने अर्थपूर्ण बनाउन खोजेको छ । 'कुन दिन बाँधेंछु घुँघरु । । ।' ले दर्शकहरूलाई संवेदित बनाउँछ । अन्य गीतसँगै यसको कोरियोग्राफीमा गरिएको मिहिनेत सराहनीय छ । तर फिल्मको लगभग सुरुआतदेखि राखिएको बक्सिङको सिक्वेन्स भने अल्छीलाग्दो छ, एकपछि अर्को दोहोरिइराख्दा पट्यार लाग्छ । तारन्तारका फाइट देखाउनकै लागि मात्र भन्दा पनि कथाको तनावमा बुन्दै लग्न सकेको भए यसले बढी अर्थ राख्थ्यो । सिनेम्याटोग्राफीमा पुरुषोत्तम प्रधानले राम्रो काम गरेका छन् । तर फिक्स सटका दृश्य हेर्नै नपाउने गरी उनका क्यामेरा कतिपय दृश्यमा बढी चलायमान लाग्छन् ।

समग्रमा, 'मायाज बार' अनुभव गर्नका लागि भन्दा पनि हेर्नका लागि मात्रै बनाइएको फिल्म लाग्छ ।

फिल्म समीक्षा

मायाज बार

निर्देशक ः दिनेश डीसी

कलाकार ः राजेश हमाल, करिश्मा मानन्धर, निशा अधिकारी, गजित बिष्ट 

0 comments: