२०६९-०४-०७
फिल्मी अपडेट
रिलिजको दुई दिनमै फिल्म 'हाइवे'ले बहसको ठूलो पहरो तानेको छ। यो नै यसको पहिलो सफलता हो। सँगै रिलिज भएका दुई नेपाली फिल्मको कुनै नामोनिसान छैन। यसले पक्ष र विपक्षमा ठूलो जमात कमाइसकेको छ। नेपाली फिल्ममा रहेको बलिउडको संक्रमणको विरोध गर्दै एकताका फिल्म समीक्षा गर्ने दीपक रौनियारले आफ्नो पहिलो पूर्ण कदको फिल्म 'हाइवे'लाई सकेसम्म मौलिक बनाउने प्रयत्न गरेका छन्। रचनात्मक 'स्टोरी टेलिङ'को वकालत गर्ने उनको फिल्म रचनात्मक नै बनेको छ।
फिल्मः हाइवे

निर्देशकः दीपक रौनियार
निर्माताः समीरमणि दीक्षित, लोनिम प्रसाइँ, मिता होसाली
लेखकः अविनाशविक्रम शाही
कलाकारः दयाहाङ राई, कर्मा, ऋचा शर्मा, आशा मगराती, इलम दीक्षित, सृष्टि घिमिरे, राजन खतिवडा, रवीन्द्र मिश्र, सन्दीप क्षेत्री, भूमिका श्रेष्ठ, सौगात मल्ल आदि।
रेटिङः पाँचमा साढे तीन तारा
समीक्षकः दीपेन्द्र लामा
पाँच महिनाअघि सम्पन्न ६२ औं बर्लिन फिल्म फेस्टिभलको प्यानोरमा सेक्सनमा छानिएको 'हाइवे'ले इलाम-काठमाडौं रुटको बस चढ्ने यात्रुहरूका अलगअलग कथाबाट नेपाली समाजलाई नियाल्छ। फिल्मका हरेक पात्र समाज हेर्ने झ्यालझैं लाग्छन्।
सफल फिल्म निर्देशक बन्न सबैभन्दा पहिले समाजको संरचना र मनोविज्ञान राम्ररी बुझ्नुपर्छ र त्यसपछि भिजुयल मेडियमको कलात्मकतासँग परिचित हुनुपर्छ। दीपक यो मामिलामा सचेत छन्।
धेरै नेपाली फिल्ममा आधारभूत नियम थाहा नपाएर तोडिइन्छन्। ती गल्ती हुन्। तर अर्थ र तर्कसहित नियम तोडियो भने प्रयोग हुन्छ। 'हाइवे'ले प्रयोगका लागि नियम तोडेको छ। दर्शकमा असहजता महसुस गराउन 'हाइवे'मा यस्तो प्रयोग गरिएको छ। फ्रेमिङ, सम्पादन, कन्टिन्युटी, साउन्ड लगायतमा आधारभूत नियम तोडिएको छ।
फिल्म विधामा प्रयोग मानिने जम्पकट एडिटिङलाई 'हाइवे'ले अपनाएको छ। जम्पकट भनेको कन्ट्युनिटी एडिटिङको उल्लंघन गर्नु हो। सामान्यतया एडिटिङ गर्दा 'थर्टी डिग्री रुल' नियम लगाइन्छ। ३० डिग्रीभन्दा फरक पोजिसनबाट खिचिएका दुई सटलाई जोडियो भने कन्ट्युनिटी एडिटिङ मानिन्छ। जम्पकटमा चाहिँ ३० डिग्रीभन्दा कम अन्तरका सटहरू जोडिन्छ। जर्ज मेलिसले सुरु गरे पनि जँ लुक गोदार्डको फिल्म 'ब्रेथलेस'मा यसको अर्थपूर्ण प्रयोग गरिएको छ। हतोत्साह, तनाव, बेचैनी र समयान्तर दर्शाउन 'हाइवे'ले जम्पकटलाई अँगालेको छ।
कलाकारहरूका अभिनय स्वाभाविक छन्। आफ्नो निजी अनुभव घोलेर अभिनय गरेको देखिन्छ। सबल पक्ष यसमा लाउड अभिनय छैन। कलाकारहरूले नै संशोधन गरेको हुनाले संवाद बोलीचालीकै छ।
छायांकन राम्रो हुन क्यामेरा होइन फ्रेमिङको आइडिया हुनुपर्छ भन्ने यसले पुष्टि गर्छ। स्टिल क्यामेरा भनेर चिनिने 'फाइभ-डी'ले खिचे पनि यसको छायांकन सिनेमेटिक छ। मुड अनुसार सटको लम्बाई र आकार छानिएको छ। इलाम र तराईका ल्यान्डस्केपले आनन्द दिन्छ। धेरेजसो नेपाली फिल्मका दृश्यमा कि सुटिङ हेर्नेको घुइँचो देखिन्छ कि पूरै सुनसान हुन्छ। 'हाइवे'मा कतै पनि यस्तो छैन। जुलुस होस या सडक, सबै दृश्यमा कलाकार र गैरकलाकार छुट्टिदैन। फिल्ममा यस्तो फिजिकल रियालिटी संयोजन गर्न गतिलै कलात्मक चेत आवश्यक पर्छ।
फिल्मको ध्वनि पक्षमा मिहिन काम गरिएको छ। स्टक ध्वनि कतै पनि सुनिदैन। परिस्थिति र लोकेसनलाई सजीव तुल्याउने ध्वनि छ। पात्रअनुसार बेग्लाबेग्लै पार्श्वधुन बजाइन्छ। पार्श्वसंगीत ताजा, स्तरीय र दृश्य सुहाउँदो लाग्छ।
फिल्मको कलात्मकताको निर्धारण त्यसमा पाइने विम्बको मात्राले पनि गर्छ। 'हाइवे'मा विम्बात्मक दृश्यको तारिफयोग्य उपस्थिति छ। पहिलो बन्द छिचोलेपछि बसले खोपिल्टो सडक पार गरेको सटले समग्र यात्राको ग्राफलाई संकेत गर्छ। ड्राइभरको पहिलो सट पनि विम्बात्मक छ। सम्पूर्ण गाडीको भार उनीमाथि रहेको बुझाउँछ त्यो सटले। इटहरीनिर ओर्लिन खोजेको बाजा टोलीलाई काठमाडौंसम्म जान बाध्य पारिएको दृश्यलगत्तै बसले कोशी ब्यारेजको पुल तरेको देखाइन्छ। बाजा बजाउनेहरूलाई अरू यात्रुले पुलको रूपमा प्रयोग गरेको अर्थ त्यहाँ आउँछ।
बसका यात्रुहरूलाई एउटा समाजको रूपमा चित्रण गरिएको छ। एकअर्कासँग अन्तर्त्रि्कया गर्ने हुनाले यात्रुहरू समाजजस्तो देखिएको हो, नत्र भीडमात्र ठहरिन्थ्यो। उनीहरूसँग गाँसिएका काठमाडौंका पाात्रहरू पनि एकअर्कासँग ठोक्किएका छन्। नेपाली समाजको साँघुरोपनको सबुत हो यो।
फिल्मको ध्वनि पक्षमा मिहिन काम गरिएको छ। स्टक ध्वनि कतै पनि सुनिदैन। परिस्थिति र लोकेसनलाई सजीव तुल्याउने ध्वनि छ। पात्रअनुसार बेग्लाबेग्लै पार्श्वधुन बजाइन्छ। पार्श्वसंगीत ताजा, स्तरीय र दृश्य सुहाउँदो लाग्छ।
फिल्मको कलात्मकताको निर्धारण त्यसमा पाइने विम्बको मात्राले पनि गर्छ। 'हाइवे'मा विम्बात्मक दृश्यको तारिफयोग्य उपस्थिति छ। पहिलो बन्द छिचोलेपछि बसले खोपिल्टो सडक पार गरेको सटले समग्र यात्राको ग्राफलाई संकेत गर्छ। ड्राइभरको पहिलो सट पनि विम्बात्मक छ। सम्पूर्ण गाडीको भार उनीमाथि रहेको बुझाउँछ त्यो सटले। इटहरीनिर ओर्लिन खोजेको बाजा टोलीलाई काठमाडौंसम्म जान बाध्य पारिएको दृश्यलगत्तै बसले कोशी ब्यारेजको पुल तरेको देखाइन्छ। बाजा बजाउनेहरूलाई अरू यात्रुले पुलको रूपमा प्रयोग गरेको अर्थ त्यहाँ आउँछ।
बसका यात्रुहरूलाई एउटा समाजको रूपमा चित्रण गरिएको छ। एकअर्कासँग अन्तर्त्रि्कया गर्ने हुनाले यात्रुहरू समाजजस्तो देखिएको हो, नत्र भीडमात्र ठहरिन्थ्यो। उनीहरूसँग गाँसिएका काठमाडौंका पाात्रहरू पनि एकअर्कासँग ठोक्किएका छन्। नेपाली समाजको साँघुरोपनको सबुत हो यो।
एउटा पात्रको संवेदनाको बहावलाई अर्को पात्रको संवेदनासँग जोडिदिएको छ। दुलही भागेपछि कर्माको मनमा पैदा हुनसक्ने उकुसमुकुस रवीन्द्र मिश्रको अनुहारमा प्रकट
हुन्छ। आशा मगरातीलाई गाडीले ठक्कर दिएपछिको सन्नाटा राजमार्गमा बस हुइँकिएपछि छाउँछ।
नारी पात्रलाई यसमा जस्तो केस्राकेस्रा अरू नेपाली फिल्ममा सायदै हेर्न पाइन्छ। लोग्नेलाई एक्लोपनमा छोडेर जाने नारी, परपुरुषको गर्भधारण गर्ने नारी, हुनेवाला लोग्नेलाई थाहै नदिई बेपत्ता हुने नारी, ड्राइभर प्रेमीको नाममा देहव्यापार छोड्ने नारी। यी पात्रहरूबाट नारी-पुरुष सम्बन्धको उत्खनन पनि हुन्छ।
नेपालको राजमार्गको यात्रा एकदमै जटिल छ। गाडी सरर्र गुड्न पाउँदैन। ब्याक गियर प्रशस्त प्रयोग हुन्छ। 'हाइवे'को कथा पनि सलल बग्दैन। कथा अघि बढे पनि फेरि पुरानै घटनामा फर्केर अघि बढ्ने 'नन-लिनियर' शैली अपनाइएको छ। राजमार्गमा यात्रा गर्दाको असहज र अप्रत्यासित अनुभव यो फिल्म हेर्दा पैदा हुन्छ। फिल्मको मनोवैज्ञानिक उपचार हो यो।
राजन खतिवडा, इलम दीक्षित, सृष्टि घिमिरे, आशा मगराती, रवीन्द्र मिश्र जस्ता कलाकारहरूलाई ब्रेक दिनु यसको अर्को उपलब्धि हो। नेपाली फिल्ममा अनुहारको मेनु फराकिलो बनाउन यी कलाकार सक्षम छन्।
बलिउडको धङधङीबाट मुक्त छ 'हाइवे'। पाँच गीत, पाँच फाइट, मेलो ड्रामा, अपत्यारिलो हिरोइज्म छैन। बलिउडको सूत्रलाई नै धर्मशास्त्र ठान्दै फिल्म बनाएर मस्तिष्क खोक्रो भइसकेकाले 'हाइवे'बाट धेरै सिक्नसक्छ।
फिल्ममा ह्युमरको कमी छ। सम्भावना हुँदा हुँदै यसमा ध्यान गएको देखिँदैन। रवीन्द्र मिश्रको पात्रलाई अझ आयामिक बनाउन सकिन्थ्यो। उनका उस्तै खाले दृश्य दोहोरिँदा कतैकतै पट्यार लाग्छ। बसका यात्रु र बन्दकर्ताबाहेक फिल्मले राजमार्गका अरू पात्रहरूलाई कथाभित्र उन्न सकेको छैन।
फिल्म उद्योगको उन्नति गर्न दर्शकको फिल्म लिटरेसी बढाउनु पर्छ। त्यसो भएमा मात्र हरेक जेनर र शैलीका फिल्ममा दर्शकले आनन्द लिन सक्छ। मूलधार भनिएका फिल्महरूले दर्शकको फिल्म लिटरेसी बढाउने होइन घटाउने गर्छ। 'हाइवे' जस्ता फिल्मले चाहिँ बढाउँछ। किनभने यस्ता फिल्मले दर्शकलाई कथा भन्ने शैली र
दृश्य माध्यमको भाषामाथि सोच्न होमवर्क दिन्छ।
नेपाली समाजको 'युज एन्ड थ्रो' प्रवृत्तिको दृष्टान्त यसमा बाजा टोलीको प्रसंगबाट प्रस्तुत गरिएको छ। टोलीले यात्रुहरूलाई काठमाडौंसम्म ल्याउन ठूलो सहयोग गर्छ। तर, काठमाडौं आइपुगेपछि यात्रुहरूले आफ्नो वचन भुल्दै बाजा टोलीलाई वास्ता गर्दैनन्।
फिल्ममेकिङका सबै क्राफ्टलाई मिहेनतका साथ प्रयोग गरेर फुलबुट्टा भरिएको 'हाइवे'का सबै पात्रहरू पक्का नेपाली लाग्छ, किनभने सबैसँग आ-आफ्नो तनाव छ। फिल्म सकिन्छ तर उनीहरूको तनाव जारी रहन्छ, एउटा हाइवेजस्तै। यो 'ओपन इन्डिङ'ले दर्शकलाई आफ्नो कल्पनाशक्ति प्रयोग गर्ने अवसर दिएको छ।
नेपालमा हरेक हप्ता दुइटाको दरले नेपाली फिल्म रिलिज भइरहेको छ। तर, सबै गणनामा आउँदैनन्। कुनै कुनैको चर्चा हुन्छ। त्यो पनि चलुन्जेलमात्र। ४५ दिन सुटिङ गरिएको फिल्मको आयु १५ दिन पनि हुँदैन। 'हाइवे' भने पछिसम्म फर्केर हेरिने लामो आयु भएको फिल्म हुने निश्चित छ। नेपाली फिल्मको साँघुरो बाटोलाई फराकिलो बनाउने संकल्प यसमा पाइन्छ।
0 comments:
Post a Comment