123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:57 AM
0

२०६९-०६-२५
फिल्मी अपडेट ,काठ्माण्डौ



दीपेन्द्र लामा - फिल्मको काम गरेर पैसा कमाउने दिन नेपालमा अझै आइसकेको छैन। राम्रा फिल्मको अभावले यो क्षेत्र व्यावसायिक बन्न नसकेको हो। त्यही भएर फिल्ममा डुबुल्की मारिसकेकादेखि डिलसम्म पुगेका थुप्रै जनशक्ति विदेशतिर तर्केका छन्। सधैं फिल्मको कलात्मक विकासको पक्षमा वकालत गर्ने प्रचण्डमान श्रेष्ठद्वारा निर्देशित पहिलो फिल्म 'भिसा गर्ल'ले सहरमा एउटा बहस चलाएको छ। आफ्नो पेशालाई हापेर विदेश छिर्न लालयित तीन युवाको कथा यसले उप्काउँछ।

फिल्म : भिसा गर्ल 
लेखन / निर्देशन : प्रचण्डमान श्रेष्ठ
निर्माता : सिजी इन्टरटेनमेन्ट
कलाकारः ऋचा शर्मा, विनय श्रेष्ठ, कर्मा, रेमणदास श्रेष्ठ, रिमा विश्वकर्मा, मेनुका प्रधान, सलोनी राजभण्डारी, निमा रुम्बा आदि।
रेटिङः पाँचमा साढे दुई तारा 
एउटा राम्रो कृति थपिँदा नेपाली फिल्मको बजार कति फैलिन्छ, त्यसको तथ्यांक निकाल्न गाह्रो छ। तर सत्य के हो भने, स्वदेशमै बाँच्नुपर्छ भन्ने कथा देखाउने निर्देशकसँग मौलिक र राम्रै फिल्मको अपेक्षा गरिन्छ। झन् प्रचण्डमान त फिल्मका गम्भीर वार्ता र जमघटमा फर्फराइरहने अनुहार हुन्।
धेरैजसो नेपाली फिल्मको कमजोरी आधारभूत नियमहरू नै पालन नगर्नु हो। दर्शकको भन्दा कमजोर फिल्म साक्षरता भएका निर्देशकको हालिमुहाली यहाँ छ। पात्रले बोल्ने संवादलाई नै फिल्मको भाषा ठान्ने स्तर उनीहरूको छ।
दर्शकको संवेदना नबिथोली दृश्य र ध्वनिको माध्यमबाट पटकथालाई पर्दामा उतार्न सक्षम निर्देशक नेपालमा औंलामा गन्न सकिने संख्यामा छन्। प्रचण्डमानलाई यो सूचीमा थप्न सकिन्छ। चर्को अभिनय, कर्कश ध्वनि, अपरिपक्व सट डिभिजन, गलत कलाकार जस्ता 'भाइरस'बाट 'भिसा गर्ल' मुक्त छ।
निर्देशकको पहिलो कर्तव्य फिल्मको माध्यमबाट कथा भन्नु हो। काल्पनिक, यथार्थ वा फेन्टासी जस्तोसुकै कथा फिल्ममा पस्किन सकिन्छ। तर, कथा भन्दै गर्दा निर्देशकले आफ्नो शैली र संरचनालाई स्थापित गर्नुपर्छ।
'भिसा गर्ल'मा निर्देशक प्रचण्डमानले कथावाचनका लागि बलिउडको भनेर चिनिएका शैली र संरचना ग्रहण गरेका छन्। हिरोहिरोइनले विभिन्न लोकेसनमा लुगा फेर्दै गाउँछ र नाच्छ। घटनाहरू पनि संजोग नै संजोगले भरिएका छन्, जुन बलिउडका थोत्रा सूत्र साबित भइसके।

बलिउडको सूत्रमा बनेका अरू नेपाली फिल्मले जस्तै 'भिसा गर्ल'ले निराश चाहिँ बनाउँदैन। प्रविधि-विधान (टेक्निकलिटिज) राम्रो भएको फिल्म हो यो। छायांकन, अभिनय, ध्वनि, सम्पादन अनि पात्रको मनोविज्ञान, घटनाको संवेदना, मुड र दृश्य परिवर्तनको लय जस्ता तŒवहरूको कलात्मक सन्तुलन यसमा छ।
सामाजिक सान्दर्भिकता भएको कथा छनोट गर्न निर्देशक सफल छन्। कथाको आग्रह सकारात्मक छ। गलत नियत असफल भएपछि मुख्य पात्रहरूले सामना गर्नुपर्ने निर्लज्जता उदाहरणीय छ।
कथा र घटनालाई विश्वसनीय बनाउन भने निर्देशक प्रचण्डमान दोहोरो चुकेका छन्। किनभने फिल्म उनी आफैंले लेखेका हुन्। कमजोर पटकथाको जिम्मेवारी लेखक र समग्रमा निर्देशकले पनि लिनुपर्छ।
सहरको रुखोपन, बेरोजगारी र अव्यस्थापनदेखि विरक्तिएर कोही विदेशिने हो। तर, 'भिसा गर्ल'मा काठमाडौंलाई निकै रंगीन र पात्रहरूलाई सुकिलामुकिला देखाइएको छ। उनीहरू विदेश जानुपर्ने कुनै प्रष्ट बाध्यता छैन।
केटीमा कुनै खोट हुँदाहुँदै पनि ग्रिनकार्डको लोभले पछि लागेको भए कथा मजबुत बन्थ्यो। कार चढ्ने, राम्रो अनुहार भएकी, चम्किला लुगा लगाउने र दार्शनिक कुरा गर्ने केटीलाई मन पराउन ग्रिनकार्ड आवश्यक छैन। ग्रिनकार्डका लागि सुरु गरिएको एकतर्फी स्वार्थी प्रेम एउटा विन्दुमा निस्वार्थी बनेको भए मज्जा आउँथ्यो। तर, फिल्ममा त्यो स्वार्थी नै रहन्छ। एउटी केटीलाई तीनजना केटाले एकअर्कालाई थाहा हुनेगरी पछ्याएको पचाउन गाह्रो छ।
राम्रो साथी बनिसके पनि केटीले तीनजना केटालाई आफ्ना प्रेमी र परिवारका बारेमा किन बताउँदैन? केटाहरूले पनि किन सोध्दैनन्? अचम्म लाग्छ। निर्देशक वा लेखकलाई पो सस्पेन्स चाहिएको हो, कथाभित्रका पात्रलाई केको सस्पेन्स!

फिल्मको कमजोर पक्ष चरित्र चित्रण (क्यारक्टराइजेसन) पनि हो। चरित्र चित्रणका लागि पात्रको हुलिया, पात्रको गतिविधि, पात्रको विचार, पात्रको बोली र ऊप्रति अरूको प्रतिक्रियामा ध्यान दिनुपर्छ। 'भिसा गर्ल'का पात्रहरूको हुलिया र विचारमा समस्या छ।
स्वदेशमा बसेर समाजसेवा गर्छु भन्ने स्तुति (ऋचा शर्मा)ले बिलासी जीवनशैली अपनाएको सुहाउँदो छैन। आदित्य (विनय श्रेष्ठ), सन्देश (कर्मा) र रियाज (रेमणदास श्रेष्ठ) विचारशुन्य पात्र लाग्छन्। समाजदेखि अलग छन्
सबैजसो पात्र।
कथामा द्वन्द्व पक्ष (कन्फ्िलक्ट) कमजोर छ। कथालाई अगाडि धकेल्न र कौतुहलता पैदा गर्न द्वन्द्व तहतहको हुनुपर्छ। 'भिसा गर्ल'मा पात्रहरूको एकअर्कासँगको द्वन्द्व फितलो छ भने सामाजिक संस्थाहरूसँग त द्वन्द्व छँदैछैन भन्दा हुन्छ। सामाजिक संरचनाको अनुपस्थितिले फिल्मको क्यानभास साँघुरो लाग्छ।
फिल्ममा रियाज र हिसिला (मेनुका प्रधान)को छेडखानी आनन्ददायी छ। नेवार भाषा र वास्तुकलाले ताजापन थपिएको छ। क्रिस्चियन केटी, धनी मान्छेहरूको चन्दा संकलन, चित्र प्रदर्शनी जस्ता विविधता गाँस्ने प्रयास भए पनि त्यो छिपछिपे मात्र छ।
यस्तो परम्परागत सूत्रमा बनेको फिल्मले दर्शकको स्वाद लिने बानीलाई लचिलो बनाउँदैन। नयाँ शैली र प्रयोग भएका फिल्मलाई बहुमत दर्शकले मन नपराउनुको कारण यस्तै फिल्मको निरन्तरताले पनि हो। निर्देशक प्रचण्डमान आफ्नो आदर्शबाट पलायन भएका देखिन्छन् यसमा।
चार वर्षअघि 'सानो संसार'बाट सुरु भएको ट्रेन्ड पप-मुभीकै पछिल्लो सिलसिला हो यो फिल्म। हल्काफुल्का कथा, सानो क्यानभास, रंगीचंगी दृश्य र गीतमै बिना तनाव 'मनोरञ्जन' लिन चाहनेलाई यो उपयुक्त फिल्म हो। अंग्रेजी शीर्षकमा धमाधम रिलिज हुँदै गरेका खहरे नेपाली फिल्महरूभन्दा 'भिसा गर्ल' पक्कै राम्रो छ।  
 

नागरिक न्युजबाट सभार 

0 comments: