123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

6:48 PM
0
फेसबुकमा युवा पुस्ता, के भन्छन् सेलिब्रिटी ?
अहिलेका युवा सामाजिक सञ्जालमा झुमेका छन् । फेसबुक बनेको छ सबैको प्यारो । हुन त युवा मात्रै कहाँ हो र बालक तथा वृद्ध पनि कम्तीका छैनन् । अब त फेसबुक अकाउन्ट नभएका त कमै होलान् । पछिल्लो समय अरूभन्दा पनि युवापुस्ता निकै व्यस्त भएका छन् फेसबुकका कारण । प्रविधि विकाससँगै अहिले चिनियाँ सस्तादेखि ब्रान्डेड मोबाइलमा इन्टरनेटको सुविधा सहजै पाउन सकिन्छ । यसर्थ अहिलेका युवापुस्ता फुर्सद पाउनेवित्तिकै मोबाइमा भए पनि नयाँ स्टाटस अपडेट गर्ने, अरूको स्टाटसमा कमेन्ट गर्ने अनि च्याटमा मस्त हुने । सिक्काको दुई पाटो जस्तै फेसबुकका पनि फाइदा र बेफाइदा पनि उत्तिकै छन् । पछिल्लो समय फेसबुकको युजभन्दा पनि मिसयुज गर्ने एउटा जमात बनेको छ । यसको मिसयुजका कारण कतिले त प्रहरी खोरसमेत धाउनुपरेको दृष्टान्त हामीसामु निकै छ । प्रहरीले नेपालमा पनि साइबर क्राइमको नीतिसँगै मिसयुज गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गरे पनि यो घटनुको साटो बढ्दै गएको छ । यो अंकमा हामीले फेसबुकप्रति युवा आकर्षणलाई सेलिब्रिटीहरूले कसरी हेरेका छन् ? यस विषयमा जान्ने प्रयास गरेका छौँ । हामीले जिज्ञासा राखेका अधिकांशले सोसल नेटवर्क युज गर्नेभन्दा पनि मिसयुज भइरहेको भन्दै चिन्ता जनाएका छन् । हास्य कलाकार मनोज गजुरेलले त फेसबुकमय जीन्दगीको फेहरिस्त सुनाए । अनि महेन्द्ररत्न क्याम्पस ताहचलमा प्रध्यापन गर्ने व्यंग्य कवि नरनाथ लुइँटेलले आफ्नो कवितामार्फत अहिलेका युवापुस्तालाई झटारो हाने । यस्तै सोझो मान्छे पनि दिनभर फेसबुकमा झुम्यो भने केटी पट्याइहाल्न कुनै बेर नलाग्ने चर्चित हास्य टेलीफिल्मकी कलाकार दीपाश्री निरौलाको भनाइ छ । निरौलाका अनुसार फेसबुक युजभन्दा मिसयुज बढी भएको ठम्याइ छ । यस्तै फेसबुक त खाए तो पस्ताओ नखाओ तो भी पस्ताओ भन्ने बुझाइ छ अर्का हास्यकलाकार जितु नेपालको । यस्तै अर्का हास्य कलाकार कमल गाउँलेको भने, ‘विश्व टेक्नोलोजी बुझेर अगाडि बढिरहेको छ । तर, हामी भने मनोरञ्जनको साधनका रूपमा मात्रै टेक्नोलोजीलाई प्रयोग गरिरहेका छौँ । टेक्नोलोजीबाट हामीले मनोरञ्जन मात्रै होइन लाभ लिन सक्नुपर्छ ।’ जे होस् कलाकारले के भन्छन् त पछिल्लो समयमा युवापुस्ताको फेसबुक क्रेजप्रति ?


मनोज गजुरेल, हास्य कलाकार
‘बिहानै फेसबुक बेलुकै फेसबुक, ससुराली जाँदा बाह्रघन्टा फेसबुकमा नझुन्डिनोस्– कम्प्युटर र तपाईंको बिहे गराई दिएर अन्तै जाँदा बेवकुफ हुनुहोला ।

‘फेसबुकमा हेन्डसम केटाको प्रोफाइल पिक्चर देखेर बाह्रघन्टा च्याटिङ् नगर्नुहोस्– त्यो तपाईंकै श्रीमानको फेक आइडी भएको थाहा पाउँदा बेवकुफ हुनुहोला ।

जुरुक्क उठेर बाथरुममा जानुभन्दा पहिले फेसबुक अपडेट गर्नतिर नलाग्नुहोस्– टाइममै नित्यकर्म नगर्दा ग्यास्टिकले समातेपछि बेबकुफ बन्नुहोला ।
फेसका नाममा ‘अनुहार’ र बुकका नाममा सत्य नारायणको किताब मात्र देखेका सर्बसाधारणलाई ‘फेसबुक छ ?’ भनेर नसोध्नुहोस्–तेरो मात्रै हुन्छ भनेर लोप्पा खुवाउँदा बेवकुफ बन्नुहोला ।
खाने, सुत्ने, आराम गर्ने र ‘फेसबुक चलाउने’– तिनवटै कामलाई जीवनको अनिवार्य आवश्यकताभित्र नपार्नुहोस्–फेसबुक ब्लक भएपछि बेककुफ बन्नुहोला ।
‘मिटिङ प्वाइन्ट र डेटिङ प्वाइट फेसबुकलाई बनाउँन छोड्नोस्–पार्क, क्याफे र चौतारीहरू बिरानो लाग्न थाले पनि बेवकुफ बन्नुहोला ।’
‘फेसबुकमै माया साट्ने, फेसबुकमै कुरा गर्ने र फेसबुकमै कुरा छिन्ने ‘फेसबुक इन्गेजमेन्ट नगर्नुहोस्–लमी र पुरोहित बेरोजगार भएको सुन्नुपर्दा बेवकुफ बन्नुहोला ।’
‘साथीका साथीहरू, साथीहरूका साथीहरू र साथीहरूका पनि साथीहरू जोड्दै पिरामिड फेसबुक शैलीको फ्रेन्डसिपमा विश्वास नगर्नुहोस्– अरू नेटवर्किङ कम्पनीजस्तै यो पनि सोत्तर हुन सक्छ । त्यसवेला चौतारीमा डल्ले र भञ्ज्याङमा माइली नभेटिएपछि बेवकुफ बन्नुहोला ।’
‘नुन नखाएर प्रेसर लो भयो भने के गर्नुपर्छ ?’भनेर कसैले राखेको स्टाटसमा आएका कमेन्टहरूको पछाडी नलाग्नोस्–अर्घाखाँची हिँडेको मान्छे राँची पुगेपछि बेवकुफ बन्नुहोला ।’
‘आज बेलुका सपरिवार नगरकोट जाँदै छु’जस्ता स्ट्याटस नलेख्नोस्–स्ट्याटस थाहा पाएर फेसबुक चोरहरूले घरको सर्वस्व स्वाहा पारेको थाहा पाएपछि बेवकुफ बन्नुहोला ।’
‘एमएसएन वा याहु च्याटमा कुराकानी भएको साथीसँग फेसबुकमा भेट्ने प्रयास नगर्नुहोस्–मिस्टर ठानेर गफ गरिरहेकोमा सिस्टर र सिस्टर मानेर बोलिरहेकोमा मिस्टर परेपछि बेवकुफ बन्नुहोला ।’
‘फेसबुकलाई नै आफ्नो जिन्दगीको भन्डार कोठा नठान्नुहोस्–मेसिन रिडेबल पासपोर्ट भारतमा छाप्दा हाम्रो सम्पूर्ण जानकारी भारतमा पुगेजस्तै आफ्नो पूर्ण जानकारी फेसबुकमार्फत अमेरिकी सुरक्षा निकाययमा सुरक्षित रहेको थाहा पाउँदा बेवकुफ बन्नुहोला ।’

नरनाथ लुइँटेल, हास्य कवि

उल्का माथि अचम्म छ, मनै मन गुन्छु
छक्कै पार्ने दुनियाँको यौटा कुरा भन्छु
प्रविधिको विकास हो नराम्रो त हैन
लाखौँ लाख मानिसको खोस्यो यसले चैन ।

इल्लिँदै र छिल्लिँदैछन् फेसबुकमा नानी
फ्याट फ्याट गर्दै च्याट गर्छन् कुराकानी
हेरिसाध्य कहाँ छन् र तस्वीरका पोज
लट्टो लागी हेर्छन केटा उनैलाई मोज ।

‘वाल‘ भरि पोखिएछन् मनभित्रका कुरा
पढ्दापढ्दै मनैभित्र धसिएछन् छुरा
ठिटाठिटी मात्रै हैन बुढाबुढी पनि
झुत्ती खेल्छन् रमाएर त्यै ‘वाल’का मुनि ।

अफिसमा कर्मचारी, काम गोली मारो
भ्याई नभ्याई हानिरेछन् ‘म्यासेज’को तारो
गालीदेखि चाकरीको तेलसम्म घस्यो
सिर्जना र श्रम सबै यसैभित्र फँस्यो ।

‘फेसबुक’ कहाँ रह्यो ? बन्यो ‘फँसबुक’
जो कसैका मुटुभित्र यसकै ढुकढुक
लौ न, प्रभु यस्तो विधि किन पार्छौ सकस
धड्कन बनी बसेको छ ‘म्यासेज’को बाकस ।

गजल भन्दै फोहर फजल ‘स्टास’मा भर
मन परोस् कि नपरोस् क्लिक्क ‘लाइक’ गर
उस्ले उस्लाई, उस्ले उस्लाई ‘सेयर’ गरेहुन्छ
‘कमेन्ट’मा वाक्क ट्यार्र पार्दै छेरे हुन्छ ।

एकातिर नाता जोड्यो, अर्कातिर तोड्यो
यै बुकले कति कति परिवारै फोड्यो
फेसबुकमा डा.प्रा.देखि पाप्रासम्म सम
पूजा गर्ने नयाँ मन्त्र ‘फेसबुकाय नम:’

दीपाश्री निरौला, हास्यकलाकार
वास्तवमा फेसबुकका विकृतिसँगसँगै फेसबुकको मजा पनि बेग्लै छ । फेसबुकमा पनि टाढाटाढा रहेका साथीहरू पनि भेटिने, मान्छेको आनिबानी पनि थाहापाउने यसकारणले पनि फेसबुकप्रति युवाको मात्र नभइ सबैको आकर्षण बढ्दो छ ।
फेसबुकले गर्दा घर–कलह उत्तिकै बढेको छ एकदम सुस्त मान्छे पनि दिनभर फेसबुक चलाउन पायो भने त्यो मान्छे घरमा श्रीमति भए पनि भोलिपल्ट लभ गर्ने हुन्छ । फेसबुकमा धेरै साथी बनाउनेहरूको जीन्दगीको रफ्तार यति चाँडै बढ्छ कि उसले कतिखेर मृत्युनजिकै आइपुग्छ थाहै पाउँदैन ।

जितु नेपाल ‘मुन्द्रे’, हास्य कलाकार
यो त ‘सादीका लड्डु, खाए तो पस्ताओ नखाए तो पस्ताओ’ जस्तै हो । यसको गलत प्रयोग गर्नु हुँदैन भने पनि गलत प्रयोग भइरहेको छ । यसले सहजताभन्दा जटिलता निम्त्याइरहेको छ । यसको गोपनीयता नहुँदा नेपालको राजनीतिजस्तै आइटीमा पनि यसले ठूलो समस्या ल्याउँछ कि भन्ने लागेको छ । फेसबुक अहिले युवापुस्ताका लागि लभ गर्ने थलो भएको छ । कसैको जुटेको छ, कसैको छुटेको । जुट्नेहरू खुसी भएका छन् छुट्नेहरू अर्को जुटाउने ध्याउन्नमा छन् । तर, ती जुट्नेहरूको पनि कतिन्जेलसम्म हो यो महत्त्वपूर्ण छ ।

कमल गाउँले, हास्य कलाकार
हामी जुन प्रविधिमा छौँ अर्थात् जुन प्रविधिको निर्माण गरिरहेका छौँ यो हाम्रो पछिल्लो पुस्ताले उपयोग गर्न पाउने कि नपाउने भन्नेमा शंका छ ।  विश्व टेक्नोलोजी बुझेर अगाडि बढिरहेको छ । तर, हामी भने मनोरञ्जनको साधनका रूपमा मात्रै टेक्नोलोजीलाई प्रयोग गरिरहेका छौँ । टेक्नोलोजीबाट हामीले मनोरञ्जन मात्रै होइन लाभ लिन सक्नुपर्छ । अहिलेका केही युवा टेक्नोलोजीलाई व्यवहारिक जीवनमा प्रयोग गर्नुको साटो अर्कालाई च्याटमा अनेकथरिका आक्षेप, लगाएर समय बिताइरहेका छन् ।


हामी विश्व टेक्नोलोजीलाई बुझेका छैनौँ । नेपाली युवा यसका लागि सक्षम भए पनि आफ्नो सीपलाई उजागर गर्नेतर्फ ध्यान नदिएको अवस्था हो ।
: साभार --- 

0 comments: